रैथाने स्वादको विदेश सयर

सिस्नो र कोदो, गरिबको भान्सामा पाक्ने सस्तो खानाको उपमा यी खाद्यान्नबाट बन्ने परिकारको पहिचान हो । कुनै समय यस्तो थियो, पण्डितले कोदो खानुहुँदैन भनेर भान्सामै प्रवेश गराइँदैनथ्यो । तर, त्यही कोदोको ढिँडो गरिबका घरमा छोराछोरीको खुसी बनेर आउँथ्यो । दिनभर वनपाखामा डुलेर टिपेको सिस्नोको मुन्टा पुरेतबाको घरमा भैँसीले खाने खोले बन्थ्यो भने गरिबको घरमा हातमुख जोर्ने माध्यम । तर, अहिले परिस्थिति फेरिएको छ । हिजो गरिबको घरमा सीमित सिस्नो अब तारे होटेलको मेनुमा घुसेको छ । सहरका ठूला–ठूला रेस्टुरेन्टमा पुगेर कोदो र फापरको ढिँडो खाने जमात दिनानुदिन बढ्दै छ ।
त्यति मात्र होइन, सहरिया जीवनशैलीमा बिस्तारै घुस्दै गरेका यी रैथाने परिकार र स्वादलाई विदेश सयर गराउने तयारी पनि भइरहेको छ । नेपाल पर्यटन बोर्डको अवधारणामा नेपालका विभिन्न तारे होटेलमा कार्यरत व्यावसायिक सेफहरूले नेपाली रैथाने परिकारको एक लामो सूची तयार पारेर अघिल्लो साता पुस्तकमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरेका छन् । जसलाई ‘नेपाली हेरिटेज कुक बुक’ नाम दिइएको छ ।
कुक बुक एउटा यस्तो दस्तावेज हो, जसले नेपाली भान्साकोठाले माया मार्दै गएका परम्परागत परिकार र त्यसको स्वादलाई पुनः एकपटक स्मरण गराइदिन्छ । कुक बुक पर्यटकभन्दा पनि आतिथ्य सेवा दिइरहेका उद्यमीका लागि उपयुक्त सामग्री हो । कुक बुक एक त लोपोन्मुख अवस्थामा पुगेका रैथाने स्वाद र परिकारको खोज हो भने अर्कोतर्फ कुकिङमा रुचि राख्ने सबैका लागि आफ्नो भान्सामा नेपाली स्वाद टक्र्याउने सहज उपाय पनि हो । कुक बुकमा परिकारको खोजीसँगै यो पकाउने तरिका र आवश्यक सामानको सूची पनि राखिएको छ ।
नेपाल पर्यटन बोर्डको अवधारणामा नेपालका विभिन्न तारे होटेलमा कार्यरत व्यावसायिक सेफहरूले नेपाली रैथाने परिकारको एक लामो सूची तयार पारेर अघिल्लो साता पुस्तकमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरेका छन् ।
कसले गर्ने  विश्वव्यापीकरण ?
एकातर्फ मुलुकको कुल व्यापारमध्ये ९६ प्रतिशत हिस्सा आयात व्यापारको छ । आयात हुने सामग्रीमा पनि ठूलो हिस्सा स्वदेशमै उत्पादन सम्भव रहेका कृषिजन्य खाद्यान्नको छ । अर्कोतर्फ आफ्नो बारी बाँझै राखेर कामको खोजीमा विदेश जाने नेपाली युवापुस्ताको मोहका बीच जंगलमा सिस्नो टिप्न को गइदेला ? यो एउटा प्रश्नको उत्तर मात्र खोज्न सक्ने हो भने सम्भावना प्रशस्त छन् । सुरुवात भएको छ, यसलाई टुंगोमा पु-याउन धेरै काम बाँकी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार नेपाली परिकारको विश्वव्यापीकरणमा विदेशस्थित नेपाली दूतावासको भूमिका महत्वपूर्ण छ । त्यसका लागि सरकारको तर्फबाट पूर्ण सहयोग हुने आश्वासन उनले दिएका छन् । मन्त्रीले बोलेको पूरा गर्नेछन्, व्यापारीले मुनाफालाई दीर्घकालीन सोच राखेर मेनुमा नेपाली परिकार थप्नेछन् र पर्यटन बोर्डको प्रवद्र्धनात्मक अभियानमा अब रैथाने स्वादले प्राथमिकता पाउनेछ, अहिले त्यही अपेक्षा गरौँ ।
समावेशी परिकारको जमघट
नेपाली खाना विज्ञ र सेफहरूले देशभरबाट करिब २ सय रैथाने परिकारको खोज तथा अनुसन्धान गरी सूची तयार पारेका थिए । ती परिकारबाट विज्ञहरूले उत्कृष्ट तीन दर्जन परिकार र स्वादलाई कुक बुकमा अटाएका छन् । जसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गर्नेछ । ‘खानाका माध्यमबाटै संसारमा धेरै मुलुक परिचित छन्,’ होटेल संघ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्य भन्छन्, ‘मुलुक चिनाउने अर्को माध्यम स्वाद र परिकार पनि हो ।’ नेपाल पर्यटन बोर्ड, होटेल संघ नेपाल (हान), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) रैथाने स्वादको विश्वव्यापीकरण गर्न ‘एक्सपेरियन्स नेपाल–कुजिन एन्ड कल्चर’ नामक नारा छानेका छन् ।
देशभरबाट स्वाद र परिकारको खोजी गर्ने क्रममा विज्ञ र सेफहरूले मुलुकका विभिन्न जातजातिको भान्सामा परम्परागत रूपमा पाक्ने लोकप्रिय परिकार छानेका छन् । लाग्छ, नेपाली रैथाने परिकारमा समावेशी स्वादको जमघट छ । त्यति मात्र होइन, स्वाद र परिकारले नेपाली संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । त्यसकारण ‘एक्सपेरियन्स नेपाल–कुजिन एन्ड कल्चर’को नारालाई सार्थकता दिने प्रयास कुक बुकमा अटाएका परिकारले गरेको देखिन्छ ।
एउटा रेस्टुरेन्टभित्र छिरेर मौलिक नेपाली परिकार मात्र अर्डर ग-यो भने त्यहाँ मधेसको मैथिली, भोजपुरी तथा अवधि क्षेत्रको स्वाद चाख्न पाइन्छ । त्यही मौकामा मध्य पहाडी इलाकामा बस्ने आदिवासी जनजातिको भान्सामा पाक्ने मौलिक परिकार भेटिनेछ भने सहरी क्षेत्रमा मौलाएको नेवारी परिकारको स्वादमा पनि रमाउन सकिन्छ । थकाली भान्सामा पाक्ने परिकारसँगै हिमाली तथा उच्च हिमाली र तिब्बती समुदायले रुचाएका परिकारलाई पनि विश्वव्यापीकरण गर्ने मौलिक नेपाली परिकारमा समेटिएको छ ।
विदेशी रेस्टुरेन्टमा नेपाली स्वाद
नेपालबाट अवसरको खोजीमा बिदेसिने धेरै नेपाली जानी–नजानी आतिथ्य सेवामा आबद्ध छन् । चाहे त्यो काम गर्ने सिलसिलामा होस्, या विदेशमा गएर उद्यमी बन्ने क्रममा । विदेशमा आतिथ्य सेवाका काम गर्ने नेपालीले राम्रो आम्दानी मात्र गरेका छैनन्, यो पेसा अँगालेर इज्जत पनि कमाएका छन् । अझ विदेशमा स्वरोजगारको बाटो रोजेका धेरै नेपालीको पहिलो छनोट रेस्टुरेन्ट व्यवसाय हो । नेपाली पर्यटन प्रवद्र्धनको जिम्मेवारीमा रहेका सरोकारवाला निकाय यतिवेला रैथाने स्वादलाई विश्वव्यापीकरण गर्ने अभियानमा छन् । त्यसकारण उनीहरू अहिले विदेशमा आतिथ्य सेवामा रमाइरहेका नेपालीसम्म पुग्ने प्रयासमा छन् । जब विदेशमा होटेल रेस्टुराँ चलाइरहेका नेपालीले मेनुमा मौलिक नेपाली परिकार राख्न सुरु गर्नेछन्, त्यसपछि मात्र नेपालको मौलिक खानाको स्वादले विश्वव्यापी चर्चा पाउन थाल्ने अपेक्षा सरोकारवालाले गरेका छन् ।
अहिले नेपाली सञ्चालक रहेका धेरैजसो रेस्टुरेन्टको मेनुमा इन्डियन र चाइनिज स्वादका परिकार नै राख्ने गरिन्छ । यस अभियानको नेतृत्व गरिरहेका होटेल संघ नेपाल (हान)का महासचिव विनायक शाह भन्छन्, ‘अब विदेशीलाई हाम्रो खाना खाइदेऊ भन्दै आग्रह गरेर होइन, होटेल र रेस्टुराँमा नेपाली स्वाद र परिकार पस्किएर मौलिक खानाको प्रवद्र्धन गर्ने हो ।
SRC : www.experiencenepal.welcomenepal.com